भाद्र ६ - धरानका पत्रकार लिलानाथ घिमिरेमाथि भएको कुटपिटबारे अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयले आइतबार छानबिन समिति गठन गरेको छ । अञ्चल प्रहरी प्रमुख एसएसपी मिङ्मार लामाको निर्देशनमा आक्रमण भएको पत्रकार घिमिरेको दाबी छ ।
प्रहरीले प्रहरी नायव महानिरीक्षक टपेन्द्रध्वज हमालको संयोजकत्वमा कामु प्रहरी उपरीक्षक दिलीप चौधरी र प्रहरी नायव उपरीक्षक सुरेश बस्नेत सदस्य रहेको छानबिन समिति गठन गरेको आइतबार साँझ जारी विज्ञप्तीमा उल्लेख छ ।
अञ्चल प्रहरी कार्यालय सुनसरीका प्रमुखबाट पत्रकारमाथि भएको दुर्व्यवहारको आरोप र इलाका प्रहरी कार्यालय धरानले सो सम्बन्धि मुद्धा दर्ता अस्वीकार गरेको विषयमा समितिले छानबिन गर्ने विज्ञप्तीमा उल्लेख छ । 'उल्लेखित विषयमा स्थलगत भ्रमण गरी घटनाको विस्तृत अनुसन्धान गरी सत्य तथ्यसहितको प्रतिवेदन अविलम्ब पेस गर्न उक्त छानबिन समितिको गठन गरिएको छ,' विज्ञप्तीमा उल्लेख छ ।
आइतबार राति एसएसपी लामा र उनका सहयोगीहरु धरान- १३ स्थित हिल गार्डेन रेष्टुराँमा मादक पदार्थ खाएर अमर्यादित गतिविधि गरिरहेको सूचनाका आधारमा त्यहाँ पुगेका घिमिरेमाथि आक्रमण भएको थियो । घिमिरेलाई लामाका सहयोगी थमान गुरुङले सिसाको गिलासले प्रहार गरेको प्रत्यक्षदर्शीको आरोप छ । घाइते पत्रकारको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । उनको दायाँ आँखाको डिलमा गम्भीर चोट लागेको छ ।
प्रकाशित मिति: २०६७ भाद्र १३ ०९:०२